दक्षिण एसियामै पहिलाे पटक, नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा हुदै
असाेज १३, काठमाडौं – दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुदै छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ ।
खानेपानी मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको जनाकारी दिएकाे छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बाेल्दै खानेपानी मन्त्री बिना मगर नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्ने बताउनु भएकाे छ । मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराउनुभयो ।
उहाँले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
२०६८ सालमा सुरु खुला दिसामुक्त मुलुक बनाउने अभियान सुरू भएकाे थियाे । खानेपानी मन्त्रालयका अनुसार अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन् । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भए लगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।
हाल सम्म देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् ।
त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।






