उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण
असोज २५, काठमाडौं – आगामी मङ्सिरमा १४ गते सम्पन्न हुने उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो ।
आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा जारी विज्ञप्तिमा उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूूल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने जनाइएको छ । आठ सय वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो दिन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन व्यवस्थापनको तयारी अगाडि बढिरहेको पनि आयोगले सोही विज्ञप्तिमा जनाएको छ ।
आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो । विज्ञप्तिमा अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।






