हेटौँडा बजारको यी पाच स्थानमा तिहार तथा छठको फुटपाथ बजार हुने

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार १६:०७

कार्तिक ५, हेटौडा – तिन नम्बर प्रदेशको मुकाम रहेको हेटौडा बजार क्षेत्रमा तिहार तथा छठ पर्वको लागि पाँच स्थानमा फुटपाथ बजार सञ्चालन गर्न पाउने भएको छ ।

हेटौडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगगमनमा समस्या भई दुर्घटनाको संभावना बढेपछि सोमबार निर्णय गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको अध्यक्षतामा बसेको बैठकले हेटौँडाको मेनरोड, पिपलबोट तथा राप्तिरोड क्षेत्रको फुटपाथमा सञ्चालन हुने गरेको बजारलाई नयाँ स्थानमा सार्ने निर्णय गरेको छ ।

दिपावली तथा छठ पर्व अवधिमा पर्व विशेषमा प्रयोग गरिने फुल, फलफुल, पूजा सामग्री, ध्वजापताका एवं किसानले डोकामा बेच्ने तरकारी किनबेच गर्नका उपमहानगरपालिकाले यो पटक चाडपर्व सुरु हुन पुर्व नै तयारी सुरु गरेको हो ।

हेटौँडाको राप्ती रोडको ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौँडा अस्पतालको पर्खाल बाहिरको जमीन, वाइपासबाट बसपार्क छिर्ने स्थान नजिक सुमार्गी कम्प्लेक्सको दक्षिणतर्फ रहेको जमीन, भुटनदेवी माविको भित्री कम्पाउण्ड, पल्पसा सभाहलको भित्री परिसर र बसपार्कको रेष्ट गार्डेनको पर्खालसँगैको बाहिरी पर्खाल वरिपरिको पेटी गरी पाँच स्थानबाट मात्र पसल सञ्चालन गर्न पाउनेछन् ।

बैठकले पार्किङ व्यवस्थापनलाई सहज बनाउन पर्व अवधिभर हाल हेटौंडा अस्पताल छिर्ने चाइनागेट अगाडी रहेको एम्बुलेन्स तथा सवारी पार्किंग स्थललाई चाइनागेट अगाडीको सडक विभाग तर्फको खुल्ला जमिनमा स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ ।

अस्थायी बजारलाई व्यवस्थित गर्ने कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, टोल विकास संस्था, राजनैतिक दल, सामाजिक संघसंस्था, व्यवसायी संघसंस्था लगायत नागरिक समाजलाई सहयोगका लागि अनुरोध गर्ने समेत निर्णय बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*