तिहार अनुशासित, मर्यादित भई मनाउन गृह मन्त्रालयको अनुरोध (बिज्ञप्ती सहित)

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार २१:४७

कार्तिक ५, काठमाडौं – राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।

लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गरेको छ ।”

यमपञ्चक तिहारको समयमा यात्रुहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४ सै घण्टा परिचालन गरिएको जनाएको छ ।

जिल्लागत रुपमा चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सञ्चारकर्मी लगायत सबैले सामाजिक उत्तरादायित्व अन्तर्गत आ–आफ्नो तर्फबाट सेवा पुर्याउन आग्रह गरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*