‘रामेछाप’ले जित्यो, माझी गोल्डकपको उपाधि
कार्तिक १०, हेटौडा (बकैया) – मकवानपुरको पुर्बी क्षेत्र बकैया गाउँपालिकामा भएको प्रथम राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिता रामेछापले जितेको छ ।
मकवानपुरको बकैया गाउँपालिका जुरेलीस्थित खेल मैदानमा शनिबार भएको फाइनल खेलमा सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै रामेछापले उपाधि जितेको छ ।
फाइन खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछि रामेछापले ट्राइब्रेकमा गोल गरेको थियो । ट्राइब्रेकरको अवसरलाई सदुपयोग गर्दै रामेछापका लागि मनोज माझी, नवीन माझी र श्रीकृष्ण माझीले गोल गरेका हुन् ।
सिन्धुलीको तर्फबाट भने कुनै पनि गोल गर्न सकेनन् । सिन्धुलीका गोल रक्षक सुमन माझी फाइनल खेलको म्यान अफ द म्याच बन्न सफल भए ।
गोल्डकप विजेता रामेछापले नगद १ लाख रुपैयाँ , शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको सिन्धुलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र पाएकोे छ । प्रतियोगितामा सिन्धुलीका विशाल माझी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, रामेछापका श्रीकृष्ण माझी उत्कृष्ट मिडफिल्डर, रामेछापकै माइते माझी उत्कृष्ट गोल रक्षक तथा सिन्धुलीका प्रकाश माझी उत्कृष्ट डिफेन्डर भए ।
रामेछापका पुजारी माझी उत्कृष्ट प्रशिक्षकको उपाधी हासिल गर्न सफल भए । प्रतियोगितामा समान ५–५ गोल गर्दै सुनसरीका देवकुमार माझी र रामेछापका मनोज माझी सबै भन्दा बढी गोलकर्ता घोषित भए । उनीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल माझी उत्थान संघ, मकवानपुरले गत कात्तिक १ गते देखि शुरु गरेको गोल्डकपमा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका थिए ।






