अब जुम्लाको स्याउ, मार्सी चामल हेटौँडामा उपलब्ध हुने
कार्तिक ११, हेटौडा – उच्च हिमाली भेगमा उत्पादन भएको जुम्ली स्याउले हेटौँडामा राम्रो बजार पाएको छ । यस बर्षदेखि चाडपर्वहरुका अबसरमा हेटौँडा स्थित शर्मा सप्लायर्सले अनलाइन मार्फत जुम्ली स्याउ तथा ओखरको बिक्री गरेको जनाएको छ ।
जुम्लाका किसानहरुसँग सीधै सम्पर्क गरी हेटौँडा भित्र्याइएको स्याउले चिनियाँ र भारतीय स्याउको बजारलाई धक्का दिएको शर्मा सप्लायर्सकी प्रोप्राइटर साधना खनालले बताउनुभयो ।
उहाँका अनुसार बिजयादशमी र दीपावलीमा गरी सप्लायर्सले डेढ टन स्याउ अनलाइन मार्फत बिक्री गरिसक्नेछ । सप्लायर्सले नेपाली जुम्ली स्याउ बिदेशी स्याउको तुलनामा सस्तो मूल्यमा बिक्री गरेको र घरदैलो सेवा समेत दिएको जनाएको छ ।
उपभोक्ताले पनि उच्च हिमाली भेगमा बिषादीको प्रयोग नगरीकन उत्पादन भएका स्याउ मन पराएको सप्लायर्सले जनाएको छ । सप्लायर्सले दीपावलीको अबसरमा जुम्ली स्याउ, ओखर, सिमी र मार्सी चामलको समेत बिक्री गर्ने तयारी गरेको छ ।
‘जुम्ली उत्पादनलाई हेटौँडामा बिक्री गर्दा माग थेग्न समेत समस्या भएको छ’, खनालले भन्नुभयो–‘चाडपर्वमा मात्र ल्याइएको जुम्ली उत्पादनहरुलाई अब हेटौँडामा १२ महिना उपलब्ध गराउने व्यवस्था गर्न लागेका छौँ ।’






