हेटौडामा २२ वर्षपछि बहुप्राबिधिक महाविद्यालय शिलान्यास
कार्तिक १९, हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा अबस्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल-भारत मैत्री बहुप्राबिधिक महाविद्यालयको शिलान्यास गरिएको छ । महाविद्यालयको मंगलबार तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।
विद्यालय निर्माण गर्ने योजना बनेको २२ वर्षपछी मंगलबार भएको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले अबको परियोजनाहरु समय सिमा भित्र नै निर्माण हुनुपर्ने बताउनुभयो । बिभिन्न बिकास निर्माणमा अवरोध नगर्न उहाले चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो–‘ यो लाखौं विद्यार्थीको भविष्य निर्माणमा जोडिन लागेको छ यसलाई सबैले सहयोग गरौ । धेरै लामो समयको सपना र प्रयास पछि यो निर्माण प्रकृया अगाडि बढेको हो ।’ यसलाई आफ्ना अभिष्ट पुरा गर्न कोहि लागे जनताले नछोड्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न आब्हान गर्दै समय अगाबै काम सके पुरस्कृत गर्ने घोषणा समेत कार्यक्रममा गर्नुभयो ।
परिणाममुखी शिक्षाको लागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री पौडेल प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालनका लागि योजना अघि बढाइएको बताउनुभयो । मकवानपुर धेरै क्षेत्रको सम्भावना रहेको भन्दै यसै क्षेत्रमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्न लागेको समेत बताउनु भयो ।
केन्द्रिय खेलकुद एकेडेमीका नाममा निर्माण सुरु भइरहेको परियोजनाका कारण देशले नै पुरै फाईदा लिन सक्ने बताउनुभयो । तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रदेश सरकारले २६ बिगाह जग्गा खाली गराएर महाविद्यालयको भवन निर्माणका लागि स्थान उपलब्ध गराएको हो । भारतीय अनुदानको ५८ कराेड ४४ लाख लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुने छ ।






