हरिबोधनी एकादशीमा सार्वजनिक बिदा
कार्तिक २०, काठमाण्डौ – नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । यहिँ कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप-प्रमुख सुशीला अधिकारीले बताउनु भयो ।
नगरपालिका भित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको ले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको हो ।
प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो दिन नगरपालिका अन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ ।






