तिन नम्बर प्रदेश सरकारले धियाँलमा यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने

तामसालिङ खबर
२२ कार्तिक २०७६, शुक्रबार ०८:१२

कार्तिक २२, हेटौंडा(बकैया) – प्रदेश ३ सरकारले पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ स्थित धियाँलमा रहेको यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले यूरेनियम खानीको सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

यूरेनियमको सम्भाव्यता अध्ययन गर्नका लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ वजेट समेत छुट्याइएको प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । त्यस क्षेत्रमा यूरेनियम छकी छैन भन्ने बिषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न लागिएको हो । प्रदेशमा रहेको बिभीन्न खानीको अध्ययन गर्ने योजना अनुसार काम गरिएको मन्त्री नेपालले वताउनुभयो ।

दुई दशकअघि युरेनियमको खानी पत्ता लागेको थियो । गाउँमा बहुमूल्य युरेनियमको खानी फेला परेपछि उत्साहित गाउँले आजभोलि दिक्क छन् । उनीहरूको अपेक्षा थियो, खानीले गाउँको विकास हुन्छ । लामो समयदेखि खानी उत्खनन हुन नसकेपछि उनीहरूले आफ्नो बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् ।

धियाँल स्थित कालापानी, चाँदे, तीनभँगाले र छतिवन स्थित मामदमार क्षेत्र युरेनियमको विकिरणबाट प्रभावित छन् । विकिरणयुक्त पानी खाँदा क्यान्सर भएर १२ जना स्थानीयले अकालमा नै ज्यान गुमाइसकेको कालापानी की कान्छीमाया स्याङ्तानले बताउनुभयो ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले बस्ती स्थानान्तरण गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘यहाँको बस्ती अन्यत्र सारेर खानी उत्खनन गर्न हामी पहल गर्छौं’, उनले भने । यहाँ करिब सय परिवारको बसोबास छ ।

सरकारले खानी उत्खनन गर्ने हल्ला लामो समयदेखि चले पनि सरकारले आधिकारिक रूपमा खानीको परीक्षण गरेको छैन । तर बर्से्नि देसी विदेसी अनुसन्धानकर्ता युरेनियम अनुसन्धानका लागि यहाँ आउने गरेका छन् ।

पहिलो पटक त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका प्राध्यापक देवीदत्त पौडेलको सुपेरीवेक्षणमा अर्जुन पाठकले गरेको अध्ययनमा मकवानपुरको सिवालिक क्षेत्रमा सघन अक्साइडका रूपमा युरेनियम रहेको पत्ता लगाएका थिए ।

युरेनियम सबैभन्दा बढी पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक भार हुने यो धातुले लगातार रेडियोधर्मी विकिरण फ्याँकिरहने भएकाले सीमित आयु हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*