उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

तामसालिङ खबर
५ मंसिर २०७६, बिहीबार ०८:५७

मंसिर ५, सिमकोट – जिल्ला सुरक्षा व्यवस्थापन समिति हुम्लाले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाता बाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।

जिल्लाका सात गाउँपालिका मध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मंसिर ११ गते राति ७ बजेदेखि शुरु हुन्छ ।

सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।

उपनिर्वाचनको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा आवतजावतलाई कडाइ गर्ने निर्णयसंगै अन्य गाउँपालिकाका नागरिकलाई समस्या हुने भएको छ । तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकाको आवतजावत गर्ने मुख्य बाटो सोही गाउँपालिका भएर जाने भएकाले उनीहरुलाई समस्या पर्ने भएको हो ।

सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चार वटा गाउँपालिकासहित मुगु, जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका भएर जाने भएकाले यो निर्णयले जिल्लाका अन्य नागरिकलाई सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले यसतर्फ स्थानीय प्रशासन गम्भीर हुनुपर्ने माग स्थानीयवासीको छ ।

मतदान केन्द्रको ३०० मिटर दूरीको नजिकमा अन्य नागरिकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भए तापनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरिकलाई समस्या हुने देखिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*