नवनियुक्त मन्त्रीहरुले लिए सपथ
मंसिर ५, काठमाडौं – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार शपथ गराइएको हो । शपथ सँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।






