धादिङमा मोबाइल जर्नालिज्म तालिम
मंसिर ९, धादिङ – तिन नम्बर प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयको आयोजनामा धादिङमा सोमबार देखि मोबाइल जर्नालिज्म तालिम शुरु भएको छ ।
धादिङ सहित,मकवानपुर, चितवन, रसुवा र नुवाकोटका २० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको तालिममा मोबाइललाई कसरी पत्रकारितामा उपयोगी बनाउन सकिन्छ भनेर प्रदेशका पत्रकारलाई सिकाउने काम गरिरहेको सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ ।
यस अघि सञ्चार रजिष्ट्रार कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारलाई पहिलो पटक मोजो तालिम दिएको थियो । मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्नेलगायतका सपि सिकाइने गरिएको छ ।
सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले मोबाइलबाट फोटो खिचेर तालिमको उदघाटन गरेका छन् ।
तिन नम्बर प्रदेशको प्रेस रजिस्ट्रार रेवती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारु मगर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदावार, धादिङको सिद्दलेक वडा ४ अध्यक्ष रामहरि बराकोटी, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






