तिन नम्बर प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुने – मन्त्री जम्कट्टेल
सिन्धुली – तिन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उदघाटन गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।
उनले संघीयता खोला र नदीले नमागेको भन्दै संघीयता उत्पीडित, जाती, समुदाय र क्षेत्रले मागेकाले उनीहरुको आत्मसम्मान हुनेगरी प्रदेशको नाम ‘नेवा-ताम्सालिङ राखिनुपर्ने बताए ।
प्रदेशको नाम खोला नदीको नाममा बागमती वा गण्डकी हुनै नसक्ने भन्दै उनले भने, ‘संविधानमा समावेशीताको अधिकार भएकाले यो नामका बारेमा प्रदेशसभामा प्रस्ताव समेत दर्ता भएको छ । मैले त भनेको छु मेरो मत भनेको नेवा-ताम्सालीङ नाममा हो । मैले यो कुरा पार्टीमा पनि राखेको छु ।
उनले भने, ‘यो व्यवस्था ख्यालख्यालैमा आएको होइन । त्यसैले सरकारको आलोचना र विरोध गर्दा व्यवस्थाको विरोध नगरौं व्यवस्थाप्रति गर्व गरौं, संविधान भन्दामाथि कोही पनि छैन ।’ ‘पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको हो । संविधान र व्यवस्था ल्याउन पत्रकारको पनि रगत बगेको छ । श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा किन नपाउने ?’ उनले प्रश्न गरे । (अन्नपुर्ण पोस्ट)






