बालमैत्रीको सन्देश बोकेर मनहरीमा खैँजडी भजन टोली
पुस ९, मनहरी – यही आउदो पुस २५ गते देखि मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्वन युक्त गाउँपालिकाको रुपमा घोषणा हुने भएको छ । बालमैत्री घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणका गतिविधिहरु सञ्चालन गरी ३९ वटा सूचक पूरा गर्ने अभियानमा लागेको छ ।
खासगरी गाउँपालिकामा विकराल समस्याको रुपमा रहँदै आएको बाल विवाहको न्यूनिकरण र बाल श्रम उन्मूलनका लागि गाउँपालिकाले ध्यान दिएको छ । गाउँपालिकाले यही पुस २५ गते घोषणा हुने बालमैत्री शासन अलम्वन बारे सन्देश दिन र बाल विवाह र बालश्रममुक्त गर्न सन्देश दिने गरी गाउँपालिका भर खैँजडी भजन टोली परिचालन गरेको छ ।
मनहरी गाउँपालिकाभित्र रहेका मनोहरेश्वर भजन टोलीलाई बालमैत्री शासन सम्बन्धी तालिम र जानकारीहरु प्रदान गरी गाउँ-गाउँमा बाल विवाह र बाल श्रम न्यूनिकरणका सन्देश जाने गरी परिचालन गरिएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले बताउनु भयो ।
भजन टोलीले परम्परागत लयमा आधारित भई बालमैत्री शासन सम्बन्धी सन्देशहरु प्रबाह गरिरहेको छ । टोलीले गाउँपालिकाको ९ वटै वडामा पुगी सार्वजनिक स्थलमा भजन खैजँडी भजन प्रस्तुत गरिरहेको मनहरी गाउँपालिकाका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाईले बताउनुभयो ।
बालमैत्री शासन घोषणाका लागि गाउँपालिकाल बाल अधिकार समिति, वाल क्लव, शिक्षक, विद्यार्थी, टोल विकास संस्था, मकवानपुर उद्योग बाणिज्य संघ, होटल व्यवसायी, ट्रयाक्टर व्यवसायी, सञ्चारकर्मी लगायतसँग समन्वय गरी काम अघि बढिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।






