नेपाल भ्रमण बर्षलाई स्वागत गर्न मकवानपुरको इन्द्रसरोबरमा नाइट पार्टी कन्सर्ट हुने
पुस १४, हेटौडा – नेपाल भ्रमण वर्ष २०२० लाई भव्य स्वागतको लागि मकवानपुर उत्तरी क्षेत्रमा रहेको मानवनिर्मित ताल इन्द्रसरोवरमा भव्य कार्यक्रम र नाइट पार्टी सहित नयाँ वर्षको समेत स्वागत गरिने भएको छ । यही पुस १५ गते मंगलबार डिसेम्वर ३१ तारिकका दिन इन्द्रसरोबर गाउँपालिकामा भ्रमण बर्ष स्वागतका लागि सांगीतिक कार्यक्रम हुने भएको हो ।
इन्द्रसरोबर गाउँपालिकाकै पहलमा अन्य केही संस्थाहरुको तत्परतामा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको इन्द्रसरोबर गाउपालिकाको अध्यक्ष जीवन लामाले बताउनु भयो । कार्यक्रमको उदघाटन ३ नं प्रदेश सरकारका पर्यटनमन्त्री अरुण नेपालले गर्नु हुनेछ । उक्त कार्यक्रम इन्द्रसरोबर तालको किनारमा हुन लागेको हो ।
त्यस्तै, कार्यक्रमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सांसदहरु तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा प्रत्येक वडाबाट कम्तिमा एक सांस्कृतिक नृत्य ,झाँकी , रैथाने खाना लगायतका चिजहरु प्रदर्शन गरिनेछ । खड्वु गाँउमा प्रचलित महाभारतको पाण्डव र कौरवको लडाँइकोको नाच पनि प्रदर्शन गरिने बताइएको छ ।

सांस्कृतिक तथा गन्तब्य प्रवर्द्धन कार्यक्रमले इन्द्रसरोबर गाउँपालिकामा रहेका सुन्दर तथा ऐतिहासिक पर्यटकीयस्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्नेमा विस्वस्थ रहेको गाउँपालीकाका अध्यक्ष लामाले बताउनुभयो । प्राकृतिक सौन्दर्य , संस्कृति , जातजाति ,भेषभुषा , रैथाने खाना लगायत सबै महत्वपूर्ण चिजको प्रदर्शनीले इन्द्रसरोवरको पहिचान बढ्ने अध्यक्ष लामाले बताउनुभयो ।
भ्रमण बर्षको स्वागत कार्यक्रम पौष १५ गते दिउसो १२ बजे देखी हुने जनाइएको छ । जसमा सांस्कृतिक कार्यक्रमसंगै औपचारिक कार्यक्रम हुनेछ भने बेलुकाको समयमा डिजे नाइट पार्टी संगै कन्सर्ट हुने छ । उक्त अनौपचारिक कार्यक्रम साँझ ५ बजे देखि रातिको १ बजे सम्म हुने आयोजकले बताएको छ ।
इन्द्रसरोवर घुम्न आउने तथा नयाँ बर्ष मनाउन आउने पर्यटकलाई केन्द्रित गर्दै आफुहरुले डिजे पार्टी तथा कन्सर्टको आयोजना गरेको स्थानीय जागरुक युवा निर्मल श्रेष्ठले बताए । उक्त कन्सर्टमा झापाको चर्चित ब्याण्ड एकाग्रहले प्रस्तुती दिने छ ।
काठमाडौँ देखि नजिकै अवस्थित यस गाउँपालिका पर्यटकीय गन्तब्यको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । जहाँ ताल , गुफा ,झरना , हिमालका सुन्दर दृश्यावलोकन , हरियाली सल्लै सल्लाको मन मोहक जंगल , लालीगुराँसले थपेको सुन्दरता छ ।
सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष २०२० लाई स्वागत गर्न बिभिन्न कार्यक्रमहरुको समेत आयोजना हुने तय भएका छन् ।






