नेपाल भ्रमण वर्ष २०२० को भव्यरुपमा उदघाटन

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार १०:४४

पुस १६, काठमाण्डौ – नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्प सहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी छन् ।

उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए । पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्तान विन्दुका रुपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।

“पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान विन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ”, उनले भने ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*