अष्ट्रेलियाको जंगलमा लागेको आगलागीबाट ५० करोड जनावर मरे
एजेन्सी – अष्ट्रेलियामा चार महिनादेखिको आगलागीले ५० करोड भन्दा बढी जनावर मरेका छन् । आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन । मानविय र भौतिक संरचनामा पनि ठूलो क्षती पुगेको छ । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ ।
हालै सार्वजनिक समाचार अनुसार ५० करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । प्राध्यापक डिकम्यानले ‘केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको’ प्रतिक्रिया दिएका छन् । उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए ।

आगलागीबाट स्तनधारी पशु, चराहरु, घस्रिने जीवलगायत रहेका छन् । आगलागीपछि घाइते अवस्थामा जीव जन्तु बस्तीसम्म आइपुगेका छन् । अष्ट्रेलिया सरकारले आगलागी नियन्त्रणका हरेक प्रयास बिफल भएको जनाएको छ । आगलागीबाट दर्जनौँ बस्ती जोखिममा परेका छन् ।
जोखिम रोक्नका लागि प्रभावित क्षेत्रमा अन्य राज्यका बासिन्दा पुगेर सहयोग सुरु गरेका छन् । अहिले संसारभरबाट सहयोगको अपील गरिएको छ । न्यु साउथ वेल्सको मध्य तथा उत्तरी क्षेत्र संसारकै धेरै जनावर बसोबास गर्ने क्षेत्र हो । त्यहाँ आगलागीले बहुसंख्यक जनावर मरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीबाट ठूलो मानविय क्षति पनि भएको छ । अहिलेसम्म २३ जनाको मृत्यु भएको र सयौँ घाइते भएका अष्ट्रेलियन अधिकारीले बताएका छन् । सयौँ जनावर अहिले बस्ती पसेका छन् । बस्तीको नजिक आएका जनावरको उद्दार गरिएको छ । स्थानीयले घाइतेलाई उपचार गरिरहेका छन् ।






