‘जरिवाना पत्रकारलाई होइन, सञ्चारगृहलाई’ – संचारमन्त्री बास्कोटा
माघ ६, काठमाडौं – मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरूले पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव राखेका छन् । विधायन व्यवस्थापन समितिको छलफलमा आइतबार राष्ट्रियसभाका सांसदले पत्रकारिता मर्यादित बनाउन यो प्रावधान राख्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन्।
अरु काउन्सिल जस्तै मिडिया काउन्सिलमा पनि लाइसेन्सको व्यवस्था राख्नुपर्ने राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले बताए। ‘यो प्रावधान नेपालका अन्य काउन्सिलमा भएको कुरा हो, मिडिया क्षेत्र कुनै एक्स्ट्राअर्डिनरी क्षेत्र होइन नि,’ उनले भने, ‘त्यसैले पत्रकार लाइसेन्सको प्रावधान यसमा राख्नुपर्छ।’
सांसद जीवन बुढाले पनि पत्रकारिता मर्यादित बनाउन यो प्रावधान अत्यावश्यक भएको बताए । ‘विधेयकको दफा १६ मा एउटा उपदफा थपेर यो प्रावधान राख्नुपर्छ’, उनले भने, ‘पत्रकारितालाई थप मर्यादित र व्यावहारिक गराउन यसको भूमिका महत्वपूर्ण हुन्छ ।’
राष्ट्रियसभाकै सांसद प्रकाश पन्तले भने यो प्रावधान लागू गर्न गाह्रो हुने बताए । पक्षविपक्षको तर्कपछि समितिका सभापति परशुराम मेघी गुरुङले कानुन मन्त्रालयलाई यसको ‘भाषा मिलाउने’ जिम्मा दिएका छन्।
संसदमा दर्ता भएपछि विवादित बनेको मिडिया काउन्सिल विधेयकमाथि अहिले विधायन व्यवस्थापन समितिले दफावार छलफल गरिरहेको छ। विधेयकमाथि आइतबार भएको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई समेत आमन्त्रण गरिएको थियो।
छलफलमा मन्त्री बाँस्कोटाले पत्रकारलाई आर्थिक जरिमाना नगरेर सञ्चारगृहलाई गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । विधेयकमा उल्लेखित ‘कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आम सञ्चारमाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाखसम्म जरिमाना गर्न सक्ने’ प्रावधानको साटो ‘सञ्चारगृहलाई जरिमाना’ गर्ने प्रावधान राख्नुपर्ने मन्त्री बाँस्कोटाले बताएका हुन् ।
यो जरिमानामा भने कुनै सीमा राख्न नहुने उनको प्रस्ताव छ । ‘एउटा २५ हजार तलब खाने पत्रकारले यो आर्थिक जरिमाना कसरी तिर्न सक्छ, जरिवाना सञ्चारगृहले तिर्नुपर्ने गर्नुपर्छ,’ उनले भने, ‘अहिले मिडियाहरू पनि करोडौं, अर्बौंको लगानीमा सञ्चालन हुन थालिसकेका छन् नि ।’ आर्थिक जरिमानाको जिम्मा मिडिया काउन्सिललाई दिन नहुनेसमेत उनले प्रष्ट पारे । अन्नपूर्ण पोष्टमा समाचार छ ।






