हेटौंडा बजार क्षेत्रमा ३० वटा सीसी क्यामेरा जडान गरिँदै
फाल्गुन, हेटौंडा – हेटौंडा बजार क्षेत्रमा पहिला जडान गरिएको सीसी क्यामेरा बिग्रिएको लामो समयपछि प्रदेश र स्थानीय सरकारले ३० वटा नयाँ क्यामेरा जडान गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा सीसी क्यामेरा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
उपमहानगरका सुचना अधिकारी रामकृष्ण थापाको अनुसार हेटौंडाको मुख्य बाटो तथा बजार क्षेत्रमा १० किलोमिटरको दुरीमा ३९ स्थानमा ३० वटा सीसी क्यामेरा जडान गरिनेछ । सीसी क्यामेरा नहुँदा व्यवसाय गर्ने वातावरण नभएको, चोरी डकैती र हत्या हिंसाको त्रास भएको भन्दै विभिन्न निकायले लामो समयदेखि माग गर्दै आएका थिए ।
थापाले प्रदेश सरकारको १० लाख र हेटौंडा उपमहानगरको ३३ लाख ६० हजार गरी कुल ४३ लाख ६० हजार लागतमा क्यामेरा जडान गर्न लागिएको बताए । उनले ३७ थान भिएप र २ थान पिटिभी क्यामेरा जडान गर्ने उपमहानगरको योजना रहेको सुनाए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कन्ट्रोल रुम रहने क्यामेरा जडानको लागि उपमहानगरले बोलपत्र आह्वान गरिसकेको छ । आह्वान गरिएको बोलपत्र १८ गते खुल्ने र यहि फागुन महिनाभित्रै क्यामेरा जडानको लागि सम्झौता हुने थापाले बताए । उनले चालु आर्थिक वर्षभित्र क्यामेरा जडान कार्य सकिने पनि बताएका छन् ।






