चितवनका ६७४ म्याजिकको रूट परमिट निर्धारण
फाल्गुन, भरतपुर – चितवनमा रहेका ६७४ वटा चारपाङ्ग्रे (म्याजिक) सवारीसाधन अब जहाँ पाए त्यहीँ चल्न पाउने छैनन् । विभिन्न यातायात कम्पनीमा रहेका चितवनका म्याजिक भ्यानहरु अब नम्बर र रूट परमिटअनुसार चल्नुपर्ने भएको छ ।
‘चितवनमा रहेका ६७४ म्याजिकहरुको रूट परमिट तोकिएको छ, कुनै म्याजिक आफ्नो रूट छोडेर बाहिर जान पाउँदैनन्’, संयुक्त यातायात व्यवस्थापन समितिका संयोजक चिनीबहादुर बोहराले भने, ‘अब रूट परमिटमा नहिँड्ने र नम्बर नटाँस्ने म्याजिक भ्यानहरुलाई कारबाहीका लागि सिफारिस गर्ने छौँ ।’
चितवनका सम्पूर्ण यातायात कम्पनीहरु, जिल्ला ट्राफिक कार्यालय, चितवनका स्थानीय सरकार, सम्बन्धित कार्यालयहरुको संयुक्त छलफलले म्याजिक भ्यानहरुको रूट परमिट तयार पारिएको हो । चितवनमा रहेका पाँच यातायात कम्पनीमा आबद्ध भएका ६७४ वटा म्याजिकले आफ्नो रूट पाएका सम्बन्धित यातायात कम्पनीहरुले जनाएका छन् ।
चितवनमा म्याजिक भ्यानहरु चितवन यातायात प्रालि, सुन्दर चितवन यातायात प्रालि, भरतपुर मलमल यातायात प्रालि, संयोग नेपाल यातायात प्रालि र पूर्वी चितवन यातायात प्रालिमा आबद्ध रहेका छन् ।
एक नम्बर रूटमा भरतपुर रिङरोडलाई लिइएको छ । एक नम्बर रूटमा २५० वटा म्याजिकलाई चल्ने अनुमति दिइएको छ । ‘भरतपुर रिङरोडमा चल्ने म्याजिकमा एक नम्बर भनेर लेखिएको हुन्छ, ती म्याजिक अन्यत्र गए कारबाहीमा पर्नेछन्, अन्यत्र रूटमा परेका म्याजिक एक नम्बर वा भरतपुर रिङरोडमा आउन पाउने छैनन्’, उपाध्यक्ष तिवारीले भने ।
२ नम्बरमा रामपुर–शारदानगर रूट परेको छ भने ३ नम्बरमा गीतानगर–पटिहानी रूट परेको छ । ४ मा फूर्तीचोक–विजयनगर, ५ मा गौरीगञ्ज–पाण्डेघुम्ती, ६ मा गोन्द्राङ–सल्लेनी, ७ मा भोजाड–लामाटोल, ९ मा खोलेसिमल–जुटपानी, ९ मा गैँडाकोट–थुम्सी, १० मा नारायणगढ–मुग्लिन, ११ मा टाँडी–पर्सा र १२ नं रूटमा देवघाट–ठिमुरालाई राखिएको संयुक्त यातायात व्यवस्थापन समितिले जनाएको छ ।
रामपुर–शारदानगर रूटमा ९२, गीतानगर–पटिहानीमा ७१, फूर्तीचोक–विजयनगरमा २९, गौरीगञ्ज–पाण्डेघुम्तीमा ४३, गोन्दाङ–सल्लेनीमा ५३, भोजाड–लामाटोलमा १५, खोलेसिमल–जुटपानीमा १८, गैँडाकोट–थुम्सीमा ४४, नारायणगढ–मुग्लिनमा २०, टाँडी–पर्सामा २३, देवघाट–ठिमुरामा १७ वटा म्याजिकलाई अनुमति दिइएको संयुक्त यातायात व्यवस्थापन समितिले जनाएको छ ।
एक हप्ताभित्रमा सबै म्याजिकले आफ्नो रूट नम्बर लेखिएको स्टिकर टाँस्नुपर्ने नत्र कारबाही गरिने चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । भरतपुर महानगरले रूटको स्टिकर टाँसेर कार्य आरम्भ गरिसकेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरमा चल्ने केही म्याजिकमा स्टिकर टाँस गरेकी थिइन् । उनले म्याजिक भ्यानहरुको व्यवस्थापनले भरतपुर महानगरमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनमा साना सवारीसाधनको व्यवस्थापन हुुदै गएको बताउँदै यसलाई दूरदर्शी निर्णयका रुपमा लिइएको बताए ।
चितवनका प्रहरी प्रमुख नान्तीराज गुरूङले म्याजिक भ्यानको रूट परमिटले बजार व्यवस्थित हुने बताए । नयाँ रूट परमिट आएसँगै पुरानो म्याजिकको रूट खारेज हुने यातायात कम्पनीले जनाएको छ । संयुक्त यातायात व्यवस्थापन समितिले रूटमा नबसेका केही म्याजिकहरुलाई चितवनमा रहेका पाँच यातायात कम्पनीमा आबद्ध भएर रूट परमिट लिनलाई समेत अनुरोध गरेको छ ।
संयुक्त यातायात व्यवस्थापन समितिका संयोजक बोहराले भने, ‘झन्डै ३० वटा म्याजिक हामीसँग समन्वय गर्न आएका छैनन्, उनीहरुलाई समन्वय गर्न आई रूट परमिटमा बस्न अनुरोध गर्दछौँ । रूट नलिई चल्ने म्याजिकहरु कारबाहीमा पर्नेछन् ।’ (चितवन पोस्ट)






