१४ हिमाल चढेर कीर्तिमानी कायम गर्ने अभियानमा शर्मिला

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार ११:१५

फाल्गुन २४, काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन र पर्वतारोहण क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्य सहित काभ्रेपलाञ्‍चोककी शर्मिला लामा स्याङ्तान विश्‍वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी छन् ।

सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन बढी हिमाल चढिसकेकी स्याङ्तानले यही मार्च अन्तिम सातादेखि अन्‍नपूर्ण हिमालबाट आरोहण थाल्ने योजना सुनाइन् । उनले १४ मध्ये सगरमाथा र मनास्लु चढिसकेकोले अब १२ वटाको आरोहण गर्नेछिन् । ती हिमालहरु सफल आरोहण गरेमा स्याङ्तानले किर्तिमान गर्नेछिन् । १४ हिमाल आरोहण सफल भएमा उनी नेपालको पहिलो महिला बन्ने छिन् ।

एक दशकदेखि पर्वतारोहण क्षेत्रमा लागेकी स्याङ्तानले हिमाल चढ्नु शोख र व्यवसायमात्रै नभइ महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यका लागि केन्द्रित गर्ने बताइन् । हिमाल आरोहणबारे औपचारिक जानकारी दिन काठमाडौंको स्वयम्भूमा रहेको ‘तामाङ कुदाप’ रेस्टुरेन्टमा आयोजित जमघटमा उनले पर्वतारोहणसँग समग्र राष्ट्रको प्रतिष्ठालाई उचाईमा पुर्‍याउन र पर्यटन क्षेत्रबाटै कुसंस्कार र कुरीतिको अन्त्य गरी विश्वभर सकारात्मक सन्देश पुर्‍याउन लक्ष्य रहेको बताइन् ।

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, पूर्वराज्यमन्त्री, समाजसेवी, व्यवसायी लगायतले शर्मिला स्याङ्तानको सहासको प्रशंसा गर्दै शुभकामना दिएका थिए । उपसभामुख तामाङले पृथक् उद्देश्य र सन्देशसहित गर्न लागिएको आरोहणमा सबैले सहयोग गर्नुपर्ने धारणा राखिन् ।

पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता दिलमान पाख्रिनले १४ वटा हिमाल चढ्ने सहासलाई ‘बहादुरी’ को संज्ञा दिँदै सबैले सहयोग गर्नुपर्ने बताए । उनले पहिले पनि सहयोग गरेको स्मरण गराउँदै अब पनि तयार गरेको धारणा राखे । त्यस्तै पूर्वराज्यमन्त्री परशुराम तामाङले आफू पहिले पर्यटन राज्यमन्‍त्री भएको नाताले सोही मन्त्रालयमा पहल गर्ने र व्यक्तिगत रुपमा सहयोग गर्ने वचन दिए ।

स्याङ्तानको हिमाल आरोहणका लागि आर्थिक संकलनका लागि इन्दिरा घलेको संयोजकत्वमा ‘शर्मिला लामा १४ हिमाल आरोहरण अभियान सहयोग समिति’ बनाइएको छ । समिति सचिवमा डीबी तामाङ, कोषाध्यक्षमा राजेश्वरी श्रेष्ठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*