बागमती प्रदेशको महिला पत्रकारको क्षमता विकास तालिम सम्पन्न
फाल्गुन २४, हेटौडा – वागमती प्रदेशको राजधानी हेटौडामा आयोजित पाँच दिने पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा १९ गतेदेखि २३ गते सम्म तालिम गरिएको हो ।
तालिममा प्रदेशका १३ वटै जिल्लाका ४५ पत्रकार महिलाको सहभागिता थियो । समापन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गर्नुभयो । विभेद र पीडामा परेका समुदायका समाचार लेख्न पनि उहाँले आग्रह गर्नु भएको छ ।
त्यस्तै, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समाजलाई कता लैजाने भन्ने बाटो पत्रकारकै हातमा हुने हुँदा सकारात्मक समाचार लेख्न अनुरोध गर्नुभएको छ । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर लगायतले मन्तव्य राख्नु भएको थियो ।
पत्रकार अखण्ड भण्डारी इन्द्रलक्ष्मी घिमिरे, प्रताप बिष्ट, प्रेस रजिष्ट्रार रेवती सापकोटा लगायतले सहजीकरण गर्नु भएको थियो ।






