मिस वर्ल्डकी अध्यक्ष मोर्लेलाई कोरोना पुष्टि भएको दाबी

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार ०१:३७

चैत्र, हेटौडा – दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष जुलिया मोर्लेको कोराना परीक्षणमा पोजेटिभ देखिएको विभिन्न देशका संचार माध्यमहरुले जनाएका छन् ।

मोर्लेलाई कोरोना भएको समाचार समाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न देशका संचार माध्यमहरुले जुलियालाई कोरोना पुष्टि भएको दावी गर्दै समाचार प्रकाशित गरेका छन् ।

‘कोरोना संक्रमण देखिएको छ, तर, मेरो स्वास्थ्य राम्रो छ,’ मोर्लेले फेसबुक पेजमा लेखेकी छन् । मोर्ले लन्डनमा क्वारेन्टाइनमा बसेकी छिन् । ८१ वर्षीया मोर्ले १० वर्षदेखि मिस वर्ल्डकी अध्यक्ष रहँदै आएकी छिन् । मिस वर्ल्ड टोनी एन सिंह, निर्देशक स्टिभ डग्लससँगै मोर्ले फागुन २२ गते नेपाल आएकी थिइन् । नेपालमा तीन दिन बिताएर उनी २४ गते इंग्ल्यान्ड फर्किएकी थिइन् । मिस नेपाल आयोजक हिडन ट्रेजर तथा पर्यटन मन्त्रालयको समन्वयमा उनीहरु नेपाल आएका थिए।

उनीहरूले मकवानपुरमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाको स्वास्थ्य सम्बन्धि परियोजना अवलोकन गरेका थिए । यस्तै उनीहरुले सिन्धुपाल्चोकको हेलम्बुमा मिस नेपाल अनुस्का श्रेष्ठले सुरु गरेको स्वावलम्वन परियोजनाको पनि अवलोकन गरेका थिए । सोही क्रममा उनीहरुले हेलम्बुमा निर्माणाधिन हिमालयन ग्रेट ट्रेलको पनि अवलोकन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*