यूएईमा कोरोना भाइरस संक्रमित नेपाली ११ पुग्यो
चैत्र, यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ नेपालीमा सङ्क्रण भएको पुष्टि गरेको हो ।
आइतबार साँझ सम्ममा ४ महिला सहित ११ जना नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासकी प्रवक्ता एवं उपनियोग प्रमुख रीता धितालले बताउनु भयो । ११ जना नेपालीमध्ये दुई जना यस अघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन । बाँकी ९ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।
दुई जनाको सफल उपचार भएको छ, अरुको पनि निःशुल्क उपचार भैरहेको छ, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो । यूएईमा कोरोनाबाट अहिलेसम्म १७ सय ९९ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ सय ४४ जना निको भइसकेका छन भने १० जनाको ज्यान गएको छ ।






