मकवानपुरको दुई गाउँपालिकालाई नेता बानियाँद्वारा आर्थिक सहयोग
चैत्र, हेटौंडा – बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको दुईवटा गाउँपालिका पुगेर बुधबार आइसोलेशन वार्ड निरिक्षण तथा कोरोना विरुद्ध अभियानका लागि ३ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले विकट राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहनुभएका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिम राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफूले जम्मा गरेको रकमको भौचर बुधबार हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, नेता बानियाँले राक्सीराङ र मनहरी गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डकोसमेत निरिक्षण गर्नुभएको छ । प्रमूख प्रतिपक्षी दलका नेता बानियाँले कोरोनाको बढ्दो संक्रमण र संभावित जोखिमलाई मध्यनजर गर्दै दुवै गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डको निरिक्षण गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवाद समेत दिनुभएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले राक्सीराङ गाउँपालिका ५ बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । लकडाउनको समयमा आर्थिक अवस्था कमजोर रही दुईछाक टार्न समस्या परेका ३० घर परिवारलाई राक्सीराङ गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्य सामग्री वितरण गरेको हो ।

दुवै गाउँपालिकाको आइसोलेशन वार्ड निरिक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस २ ख को क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, राक्सीराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, राक्सीराङ गाउँपालिकाका कार्यकारी अधिकृत युवराज आचार्य गायतको उपस्थिति रहेको थियो ।






