वीरगञ्जमा ३ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टी
चैत्र, वीरगञ्ज – प्रदेश नम्बर २ को वीरगञ्जमा भारतबाट आएका तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । गत बिहीबार भारतबाट आएका २४ जना सहित ३३ जनाको नमुना संकलन गरी हेटौँडा पठाइएकोमा तीन जनाको प्रारम्भिक रिपोर्ट ‘रेड जोन’ देखिएपछि पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।
हेटौँडामा तीन जनाको रिपार्ट पोजेटिभ देखिए लगत्तै प्रयोगशालाले वीरगञ्ज स्थित नारायणी अस्पताललाई जानकारी गराएपछि वीरगञ्ज–२, छपकैयास्थित जामे मस्जिदमा रहँदै आएका बाँकी समूहलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।
कोरोनाको संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीका हुन् । उनीहरु विगत १३ दिनदेखि जामे मस्जिदमा नै रहँदै आएको बताइएको छ । यसअघि सप्तरीमा आयोजित मुस्लिम धार्मिकसभामा सहभागी हुन आएका उनीहरु सोही समयदेखि भारत फर्कन पाएका थिएनन् । भारतमा लकडाउनमा कडाइ गरिएपछि मार्च ४ मा फर्किनुपर्ने उनीहरु नेपालमै रोकिएका थिए । घर फर्किनुअघि स्वास्थ्य जाँच गराउँदा आफैँ नारायणी अस्पताल पुगेको बताइएको छ ।
तीन जना भारतीय धर्मगुरुमा कोरोनाको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । यस अघि नौ जनामा संक्रमण देखिएको थियो। एक जनाको निको भएका छन भने आठ जनाको उपचार भइरहेको छ । जसमध्ये एक जना निको भइृ घर फर्किएका छन् भने बाँकी आठ जना पनि केही दिनमा डिस्चार्ज हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






