इन्द्रसरोवरमा सामूहिक कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ
चैत्र, हेटौडा (इन्द्रसरोवर) – छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको उत्तरीक्षेत्रमा अवस्थित इन्द्रसरोवर गाउँपालिका–४ फाखेलबाट कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भिर घाईते भएका ४० बर्षीय जितबहादुर पाख्रीनको आइतबार ललितपुर स्थित स्टार अस्पतालमा मृत्यु भएको थियो । लेनदेनको विषयमा पाख्रिनलाई उनकै छिमेकी ३२ वर्षीय प्रदिप डिम्डुङ सहित भक्त बहादुर गोलेको समूहले चैत्र १६ गते कुटपिट गरेको जनाएको छ ।
छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रदिप डिम्डुङलाई प्रहरीले पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि फरार रहेको डिम्डुङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अन्यको खोजि भइरहेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।






