कोरिया फर्कन नपाउँदा ८ सय नेपालीको रोजगारी गुम्ने खतरा
दक्षिण कोरिया – दक्षिण कोरियाबाट विदामा घर गएका नेपालीहरुलाई समस्या पर्न थालेको छ । केही समयको छुट्टिमा घर गएका नेपालीहरु कोरिया फर्कन नपाउँदा रोजगारी नै गुम्ने खतरा बढेको छ । इपिएस माध्यमबाट कोरिया आइ बिदामा घर गएकाहरु कम्पनीले दिएको समयसिमा भित्र नफर्किएमा भिसा रद्द हुने छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन सहित अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि कोरिया फर्कन नपाउने नेपालीहरुको संख्या लगभग ८ सयको हाराहारीमा रहेको छ । नेपालबाट कोरिया फर्कन चाहनेहरुको संख्या सर्बेक्षण गर्दा ८ सयको हाराहारी नेपालीहरुले नाम टिपाएका छन् । जसमा अधिकांश इ-९ (इपिएस) भिसा भएकाहरु रहेका छन् । बाँकी केही ब्याबसायिक भिसा, बिद्यार्थी भिसा,इ-७ भिसा भएकाहरु रहेको सर्भेक्षणले देखाएको छ ।
उक्त समस्याको हल गर्नको लागि कोरियास्थित नेपालीहरुको सबभन्दा पुरानो सस्था नेपाली सम्पर्क समितिले पहकदमी गर्न थालेको छ । समितिले नेपाल एम्बेसीलाई नेपालबाट कोरियाको लागि चार्टर्ड फ्लाइटको अनुमती मिलाउन सहजिकरण गरिदिनको लागि अनुरोध गरेको छ ।
समितिका अध्यक्ष श्री श्रेष्ठ, कोरियाको लागि पर्यटन दुत केपी सिटौला, दोङ्देमुन ब्याबसायी संघका अध्यक्ष भीम गुरुङ लागायतको टोलीले कार्यबाहक राजदुत रामसिङ थापालाई ज्ञापन-पत्र बुझाउँदै चार्टड फ्लाइटको अनुमती मिलाइदिन अनुरोध गरेकाे छ । कार्यबहाक राजदुत थापाले पत्र बुझ्दै एम्बेसीले सरकार समक्ष चार्टड उडानको लागि अनुमती दिन अनुरोध गर्ने बताए ।






