कोभिड १९ सम्बन्धि जनचेतना फैलाउदा डा. पुनलाई कारबाही
बैशाख ६, काठमाडौं – कोरोना भाइरस (कोभिड १९)का बारेमा जनचेतना फैलाउँदा सरकारले सरुवा रोग विशेषज्ञ डा. शेबहादुर पुनलाई कारबाही गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर पुनमाथि कारबाही गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका पुनलाई हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको आरोप लगाइएको छ ।
कोरोना भाइरसका विषयमा जनचेतना फैलाउँने काम गर्दा पुनलाई कारबाही गरेर मन्त्रालयमा जगेडामा पठाइएको अस्पतालका अर्का चिकित्सकले बताएका छन् । अस्पतालका प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले आइतबार मात्र त्यसबारेमा बोल्न सक्ने बताएका छन् ।
सञ्चारमाध्यममा सूचना दिएको र रोगका विषयमा जनचेतना फैलाउँने काम गरेको आरोपमा उनलाई मन्त्रालय तानिएको छ । (नागरिक खबरबाट)






