९० बर्षीय जनमुक्ति सेना श्यामकुमार तामाङको निधन
बैशाख ६, काठमाण्डौ – जनमुक्ति सेना श्यामकुमार तामाङको ९० वर्षको उमेर निधन भएको छ । परिवार स्रोतका अनुसार आइतबार राति एक बजे नेपालगञ्ज स्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको हो ।
वि.सं. १९८७ साल फागुन ९ गते सिमरिङ चियाबगान दार्जिलिङमा जन्मेका तामाङले मेट्रिक सम्म अध्ययन गरेका थिए । उनी सन् १९४८ देखि नेपाल प्रजातन्त्र कांग्रेसमा संलग्न भई राजनीतिकमा होमिएका थिए । तामाङले स्थापनाकालदेखि नै जनमुक्ति सेनामा आवद्ध भई २००७ सालको क्रान्तिमा विभिन्न मोर्चाहरुको नेतृत्व गरेर थिए ।
उनी २००७ सालको क्रान्ति पछि रक्षा दलको कप्तान भए । रक्षा दल नेपाल प्रहरीमा परिणत भएपछि २०१२ सालदेखि डिएसपी र २०१९ सालदेखि एसपीमा कार्यरत रही २०२७ सालमा सेवा निवृत्त भएका थिए । २००७ सालमा नेपाल जनमुक्ति सेना कल्याण संघको अध्यक्षता समेत भएका तामाङ पछि नेपाल भूतपूर्व प्रहरी संघको उपाध्यक्ष समेत भएका थिए । त्यसका साथै नेपाली कांग्रेस बाँकेका जिल्ला सल्लाहाकार लगायतका अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिया थिए ।
तामाङले २०३२ सालदेखि २०३८ सालसम्म निर्माणधीन पूर्व-पश्चिम राजमार्गमा कार्यरत ब्रिटिस निर्माण कम्पनीमा तल्कालिन श्री ५ सरकारको सम्पर्क अफिसरमा रहेर काम गरेका थिए । साथै उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिया थिए ।
विभिन्न विभूषण तथा पदकबाट सम्मानि तामाङ २०१४ सालमा त्रिशक्ति पट्ट तेस्रो, २०१५ मा प्रहरी सेवा पदक, २०१९ मा गोरखा दक्षिणबाहु तेस्रो र २०१२ मा शुभराज्य विषेक पदकबाट सम्मानित भएका थिए । तामाङको आफ्नो जीवनमा देखे भोेगेका र बेहोरेका अनुभूतिहरु र नेपाली क्रान्तिको निर्णयक शक्तिको रुपमा रहेको तर नेपाली इतिहासकारहरुको खासै दुष्टि पुग्न नसकेको जनमुक्ति सेनाका बारेमा ‘जनमुक्तिसेना : एउटा नलेखिएको इतिहास’ ग्रन्थ प्रकाशित छन् ।
पुस्तकमा तामाङले जनमुक्तिसेनाको निर्माणकालदेखि २००७ सालको क्रान्ति, त्यसपछिका अवधिमा यसले भोग्नु र व्यहोर्नु परेका कठिन परिस्थितिहरुको जीवन्त चित्रण गरिएको छ । तामाङले पुस्तकमा क्रान्तिका पृष्ठभूमि र क्रान्तिपछि घटेका प्रमुख राजनीतिक घटना बारे पनि चर्चा गरेका छन् । पुस्तक नेपाली सेनाको बिर्सिएको इतिहासको एउटा महत्वपूर्ण दस्तावेज समेत बन्न पुगेको छ ।






