आज १४ औं लोकतन्त्र दिवस
बैशाख ११, काठमाण्डाै – जनताको बलमा नेपालमा हरेक ब्यबस्था परिवर्तन भएको इतिहासमा देख्न पाइन्छ । त्यस्तै आज हामीले महशुल गरिरहेको लोकतन्त्र पनि १३ बर्ष अघि प्राप्त भएको हो । आजको दिन त्यही लोकतन्त्र प्राप्तिको सम्झनामा १४ औं लोकतन्त्र दिवस मनाइरहेका छौं ।
२०६२/६३ सालमा भएको १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । लकडाउनका कारण औपचारिक कार्यक्रम हुन नसके पनि लोकतन्त्र दिवसको महत्व छ । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए ।
लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बन सहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ ।






