बागमती प्रदेशमा रेडियो तथा टेलिभिजनले भोगेका समस्याबारे हेटौंडामा छलफल
बैशाख २१, हेटौँडा – बाग्मती प्रदेशमा रहेका रेडियो तथा टेलिभिजनले कोरोना महामारीमा भोगेका समस्याका विषयमा आइतबार हेटौंडामा छलफल भएको छ । छलफलमा कोरोना भाईरसको संक्रमण संगै सुरु भएको लकडाउनले सम्पुर्ण अर्थव्यवस्था तहस नहस हुदाँ सञ्चार माध्यम धरासायी बन्ने अवस्था आउने हुँदा सञ्चार माध्यमले भोग्नुपरेका समस्या यथासिघ्र प्रदेश सरकारले सम्बोधन गर्न माग समेत सरोकारवालाहरुले गरेका छन् ।
छलफलमा भाग लिदै बागमती प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कोरोना भाईरससंग सिंगो मुलुक लडिरहंदा सञ्चारमाध्यमले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउनु भयो । लकडाउनका कारण सञ्चारमाध्यममा परेका अप्ठ्यारा फुकाउन प्रदेश सरकार तयार रहेको भन्दै आबश्यक सहयोगका लागी मन्त्रीपरिषदमा छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सञ्चारमाध्यम सम्बन्धी ऐन बागमती प्रदेशमा निर्माण भैसकेको बताउदै उहाले केही बिषयहरु संसोधनको आवश्यकता रहे त्यसलाई टुङ्गोमा पु¥याउन प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । छलफलमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संचार माध्यम जिम्मेवार भएर समाज रुपान्तरणका काम गरे सरकार सहयोगी बन्ने कुरामा कुनै दुईमत नरहेको उल्लेख गर्नुभयो । आम सञ्चारमाध्यमा परेका समस्या समाधान गर्न प्रदेश सरकारले छलफल गर्ने उहाको भनाई छ ।
विभिन्न विपद्का समयमा सञ्चारमाध्यमलाई हरेक सरकारले सहयोग गरिरहेको भन्दै कोभीड १९ को यो प्रभाव पश्चात प्रदेश सरकारले समस्या समाधान गर्न अग्रसरता देखाउनुपर्ने राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले माग गर्नुभयो । अन्तरक्रियामा बोल्दै ब्रोडकास्टिङ एशोसियसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाईले विपदको अवस्थामा रेडियो टेलिभिजन धरासायी भएको अवस्थामा एफएम तथा टेलिभिजन नविकरण शुल्क मिनाह गर्न माग गर्नुभयो ।
टेलिभिजन रेडियोहरुका लागी सरकारले तत्काल रकम छुट्टाउन आग्रह गर्दै चौलागाईले छुट्टाईएको रकमबाट विभिन्न चेतनामुलक सामाग्री सम्प्रेषण गर्न मिडिया हाउस तयार रहेको उल्लेख गर्नुभयो । सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले मिडिया हाउस जुनसुकै जोखिममा पनि काम गर्नुपर्ने अवस्थामा राज्यले नागरिकसम्म पुग्ने पुलको निर्माणमा सामुदायीक रेडियो खेलेको भुमिकालाई प्रदेश सरकारले विर्सन नहुने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले प्रदेश सरकारले प्रदान गर्न विज्ञापनमा एकद्वार प्रणाली लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, काठमाडौ उपत्यका रेडियो प्रसारक संघका अध्यक्ष आरके श्रेष्ठ आगामी नीति तथा कार्यक्रममा समेटिनु पर्ने बिषयमा सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नीति योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेत, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।






