आज मन्त्रिपरिषद बैठक, लकडाउन लम्बिने
बैशाख २४, काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार लकडाउन लम्ब्याउने तयारीमा पुगेको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाउने तयारीमा पुगेको सरकार पछिल्लो समय नेपालगञ्जमा बढेको संक्रमितको संख्यासँगै लकडाउन पुनः लम्ब्याउने निचोडमा पुगेको हो ।
लकडाउन कति समय लम्ब्याउने भन्ने विषयमा आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । लकडाउन नलम्ब्याउने कि भन्ने निचोडमा आफूहरु पनि पुगेको भन्दै एक मन्त्रीले लकडाउन नलम्व्याउँदा कोरोनाको संक्रमण थप बढ्ने संकेत देखिएको बताए । उनका अनुसार, लकडाउन बढाएर संक्रमण रोक्ने सोंचका साथ सरकारले लकडाउन बढाउने निर्णय लिनेछ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थप्न सिफारिस गरेको थियो । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो ।
अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए । – नागरिक खबर






