चितवनमा ४३ हजार घरपरिवारले लिए राहत

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार १८:०४

बैशाख २४, चितवन – चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको  छ । एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ । महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो ।

त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालिकाले दुई हजार र इच्छाकामना गाउँपालिकाले एक हजार ८९० घरपरिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न समुदायलाई स्थानीय तहले वडा-वडाबाट राहत वितरण गरेको उहाँले बताउनुभयो ।

राहतमा १५ किलो चामल, दाल, नुन र तेल वितरण गरिएको थियो । दोस्रो चरणको राहत वितरणका लागि पनि स्थानीय तहले तयारी गरिरहेको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*