आज २५६४ औ बुद्ध जयन्ती विश्वभर मनाइँदै, सार्बजनिक कार्यक्रम भने स्थगित
बैशाख २५, हेटौडा – शान्तिको अग्रदुत भगवान बुद्धको २५६४ औं बुद्ध जयन्ती आज विश्वभर मनाइँदै छ । नेपालको लुम्बिनीमा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसबर्ष भने विश्वभर कोरोना भाइरसको महामारीको कारण सार्बजनिक कार्यक्रम स्थगित गरिएको छ ।
गौतम बुद्धको जन्म , बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध ।
महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार शृजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे । जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरु सहितको यसो गर्नु या नगर्नु भन्ने तथ्य सहितको प्रयोग पुस्तीका पाइन्छ त्यस्तै जीवन अनि जगत सम्बन्धी सहज अनि सफलताको प्रयोग पुस्तीका बुद्धले दिएर गएका छन् ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।
वैशाख शुक्ल पूर्णिमामा काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, नमोबुद्ध लगायत स्थानमा हुने विभिन्न कार्यक्रमहरु यस बर्ष भने कोरोनाको महामारीको कारण स्थगित गरिएको छ ।






