चीन विरोधी प्रस्ताव अमेरिकी सिनेटबाट पारित
जेठ २, एजेन्सी – अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमान लगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको हो ।
सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा छलफलका लागि जानेछ । कोभिड-१९ को महामारीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन् । पछिल्लो प्रस्ताव दुई देशको सम्बन्ध चिसिएको उदाहरण हो ।
उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ । चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ ।
गत वर्ष चीनले उक्त समुदायका करिब १० लाख जनालाई शिविरहरूमा राखेर उनीहरूको ‘ब्रेन वास’गराएको आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।






