भरतपुर अस्पतालको आईसीयूमा रहेको एक जनाको मृत्यु
जेठ १२, चितवन – चितवन भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आइसीयूमा एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।
आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए ।
‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने । बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन ।
मृतकको स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।






