कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित
जेठ १३, दोहा – नेपालीहरुको रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडीमुलुक कतारमा ७ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागको तथ्याङकलाई श्रोत उल्लेख गर्दै ७ हजारको हाराहारीमा नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।
गत मे १९ तारिख विभागले निकालेको तथ्याङ्कमा कुल संक्रमितमध्ये ६ हजार ९ सय ११ जना नेपाली रहेको बताइएको छ । कुलसंक्रमित मध्ये नेपाली समुदाय दोश्रो स्थानमा छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।
कतारको सम्बिन्धत निकायले आधिकारिक रुपमा पुष्टि नगरेकोले यो तथ्याङक अपुष्ट मानिएकाे हाे । कतारमा संक्रमण बढिरहेकोले पछिल्ला दिनहरुमा संक्रमित नेपालीहरुको संख्या पनि बढेको अनुमान गरिएको छ । यसअघि पनि अप्रिल २८ तारिखमा विभागले कुलसंक्रमितको २० प्रतिशत नेपाली रहेको तथ्याङक निकालेको थियो ।
विभागले निकालेको तथ्याङ्क अनुसार संक्रमितमध्ये सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौंमा कतारी १५ सय ३६ जना रहेका छन् । बाँकी संक्रमितहरु इजिप्ट,श्रीलंका, सुडान, केन्या, जोर्डन, युगाण्डा, सोमलिया, पेलास्टानीलगायतका देशका नागरिकहरु रहेका छन् । – अनलाइनपानाबाट






