परीक्षण अभावका कारण संक्रमण फैलिएको प्रधानमन्त्री ओलीको निष्कर्ष
जेठ १२, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट आएकाहरुको परीक्षणको अभावमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिरहेको प्रष्ट पार्नु भएको छ ।
उहाँले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने प्रावधान रहे पनि छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गर्दा जोखिम बढेको पनि प्रष्ट पार्नुभएको हो ।
सोमबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको चर्चा गर्दै स्वदेश भित्रिइसेकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरुको पालना गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले यस काममा भारतबाट भित्रएकाहरुलाई आवश्यक सहयोग पु¥याउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको स्मरण गराउँदै जनता बीचको आपसी सहयोग र सजगता पनि कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सहयोगसिद्ध हुने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ, कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन । कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।
घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरुलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।
अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आप्mना अलग स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्दछन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गर्दछु ।’






