चौरजहारी काण्ड – थप एक जनाको शव भेरी किनारमा भेटियो

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार २१:२२

जेठ १४, रुकुम पश्चिम – चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ । भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो ।

उहाँको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उहाँसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टिकाराम विकको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं. १२ मा खोदा खोला नजिक भेटिएको थियो ।

सोमबार भेरी नगरपालिका वडा नंं. ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उहाँको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । उहाँको शव भेटिएपछि अब बेपत्ता हुनेको संख्या २ रहेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीलको गोताखोर टिम पनि घटनास्थल नजिकबाट बेपत्ताको खोजी कार्यमा संलन रहेको छ । भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो ।

१७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उहाँहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् ।

यस घटनामा संलग्न २० जनाको नाममा किटानी जाहेरी समेत परिसकेको छ । स्रोत : उज्यालोअनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*