सातै प्रदेशको बजेटमा स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा
असार २, काठमाडौं – सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आयव्यय सहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् । सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशले ल्याएको छ भने सबैभन्दा न्यून बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।
सातवटै प्रदेशले कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको उन्नयन र पुनरुत्थानका लागि विशेष प्राथमिकता दिएको छ । बजेटको प्राथमिकता स्वास्थ्य, कृषि र रोजगारी परेको छ । प्रदेश सरकारहरूले साना तथा मझौला उद्योगका लागि पनि जोड दिएको छ । बागमती प्रदेश सरकारले रु ५१ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । सबैभन्दा कम आकारको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको ल्याएको छ ।
प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यसैगरी, प्रदेश ५ ले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेकोे छ । प्राथमिकतामा परेका सःसर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आर्थिक वर्षमा झैं नेपाल सरकारसँग अपुग स्रोतको माग गर्ने बजेट वक्तव्यमा उल्लेख छ । कर्णाली प्रदेश सरकारले कुल बजेट ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।






