जी न्युजमाथि कारवाही गर्न भारतीय प्रेस काउन्सिललाई पत्राचार
असार, काठमाडौं – नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक समाचार सामग्री बनाएर प्रसार गर्ने जि न्युजमाथि कारवाही गर्न आग्रह सहित नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई शुक्रबार पत्राचार गरेको छ ।
नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई परराष्ट्र मन्त्रालय मार्फत एक पत्र पठाउँदै जी न्युजमाथि कारवाही अघि बढाउन आग्रह गरेका हुन् ।
जी न्युजले पत्रकारिताको न्यूनतम् मूल्य मान्यताको पनि ख्याल नगरी प्रसारण गरेको उक्त सामग्रीले नेपालको सार्वभौमसत्तामै आक्रमण गरेको उल्लेख गरिएको छ । नेपालका प्रधानमन्त्रीको चरित्रमाथि नै प्रश्न उठाउँदै नेपालबारे समेत जथाभावी टिप्पणीसहित प्रसारण गरिएको सामग्रीले नेपालको सार्वभौमसत्तामाथि पनि आक्रमण गरेको छ, पत्रमा भनिएको छ, ।
प्रेस काउन्सिलले चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर चारित्रिक प्रश्न उठाउँदै बनाइएको सामाग्री कुनै पनि हिसाबमा समाचारको मूल्य मान्यता भित्र नपर्ने ठहर गरेको छ । काउन्सिलले नेपाल-भारतबीच सदियौंदेखि राम्रो सम्बन्ध कायम रहेको बताउँदै तर यस सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले बिगार्ने तर्फ लागेकाले गम्भीर हुन पनि भनिएको छ ।








