जी न्यूजले माफी माग्यो
असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको चरित्रलाई जोडेर प्रशारित गरिएको विवादित रिपोर्ट बारे भारतीय टेलिभिजन जीन्यूजले शुक्रबार माफी मागेको छ ।
ओलीकी इस्किय नामको रिपोर्टमा प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीलाई जोडेर कार्यक्रम प्रशारण गरेपछि विवादमा परेको जीन्यूजले माफी मागेको हो ।
जी न्यूजको सो समाचारको नेपालमा व्यापक रुपमा प्रतिवाद भएको थियो । आम जनताको स्तरबाट सामाजिक संजाल र मिडियामा व्यापक विरोध भएको थियो ।
आम जनतादेखि सबैजसो नेताहरुले समेत सामाजिक संजालमा प्रतिवाद गरेका थिए भने नेपालका मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले सबै भारतीय समाचार च्यानलहरू प्रसारण रोकेका थिए ।
त्यस्तै सरकारले समेत सो रिपोर्टको विरोधमा दिल्लीस्थित दुताबास माफर्त आफ्नो विरोध जनाएको थियो । जीन्यूजको उक्त अतिरञ्जित सामग्रीपछि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि केबल अपरेटरहरूको उक्त कदमलाई धन्यवाद दिदै समर्थन गरेको थियो ।
यसअघि बिहीबार नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा जी न्यूजविरुद्ध आवश्यक कानुनी तथा कूटनीतिक कारवाही अघि बढाइने बताएका थिए ।
यस प्रकरणमा जी न्यूजले नेपाली जनताको भावनाको आदर र सम्मान गर्छौं भन्दै माफी मागेको छ । जीन्यूजले भनेको छ, हाम्रो च्यानलमा त्रुटीवश प्रसारित कार्यक्रम ओलीको इस्कियाुबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्छौं ।
यसअघि जीन्यूजका सम्पादक सुधिर चौधरीले पनि नेपाल भारतीय टिभी एंकरसँग नेपाल डराएको ट्वीट गरेकोमा पछि माफी माग्दै सो ट्वीट हटाएका थिए ।






