क्यान्सर पीडित सहयोद्धाको पीडामा पूर्वजनमुक्ति सेनाको साथ, आर्थिक सहयोग संकलन जारी

ताम्सालिङ खबर
१३ श्रावण २०७७, मंगलवार २१:०४

साउन, हेटौडा – क्यान्सर संग लडिरहेका पूर्व जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर नैनबहादुर तामाङ ‘जमीन’ को सहयोगार्थ सहयोग रकम संकलन भईरहेको छ । जनयुद्धको क्रममा घाइते भएका जमिनको चिउँडोमा बमको छर्रा लागेर भएको घाउ बल्झिएर क्यान्सर भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ५, सुनखानी निवासी तामाङको आर्थिक अवस्था नाजुक भई उपचारमा समस्या भएपछि पूर्व जनमुक्ती सेना तथा माओवादी नेता कार्याकर्ताले स्वैछिक आर्थिक संकलन गरि बुझाउन थालेका हुन ।

रोगका कारण अनुहारको स्वरुप समेत विग्रेको उनको तस्बीर सहकर्मीहरुबाट सामाजिक संजालमा पोष्ट भएपछि जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ उनलाई भेटन भक्तपुर स्थित डेरामा पुगेका थिए । आफ्ना सहयोद्धाको यो अवस्था देखेपछि मन्त्री दुलालले तत्काल उपचारको व्यवस्था गर्न आफनो एक महिनाको तलब दिने जानकारी सहित अस्पतालमा सहजीकरण गर्ने बताए ।

क्यान्सर पीडित पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ ‘जमीन’को स्वास्थ्य अवस्था बुझ्नु हुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल’शरद’ तस्बिर : राजबिक्रम खाती

“पहिला गीजामा समस्या भएको र उपचार पछि निको भएर गाडी चलाई रहनु भएको थियो तर यति गंभीर भएको पछि मात्र थाहा पाए” मन्त्री दुलालले भने । कतिपय सहकर्मीहरुबाटै नेता तथा कमाण्डरहरु सरकारमा पुगेपछि युद्ध लडेका कार्यकर्ताहरुलाई वेवास्ता गरेको भनि आक्रोश पोखेको बारे जिज्ञाशामा मन्त्री दुलालले भने “समस्या भएपछि सम्बन्धीत ठाउँमा जानकारी गरे भैहाल्छ नि, बाहिर सरापेर बिरामी निको हुने हो र ?” उनले थपे “जब हामीले थाहा पायौं, सक्ने पहल गरेका छौं र गरिने छ” ।

पूर्व सहकर्मीको नाजुक अवस्था देखे पछि यतिबेला जनमुक्ति सेना तथा माओवादी कार्यकर्ताहरुले धेरै ठाउँहरुमा आर्थिक सहयोग संकलन गर्न थालेका छन । यसैक्रममा मकवानपुरमा रहेका पूर्व जनमुक्ति सेना(पिएलए) का सदस्यहरुले पनि पीडित सहकर्मीका लागि आर्थिक सहयोग संकलन थालेका छन । तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ओम घलान ‘प्रदिप’, भाइस कमाण्डर सर्केस घलान ‘मधु’, कम्पनी कमाण्डर सुमन पाख्रिन ‘सौगात’ को समन्वयमा सहयोग संकलन भैरहेको छ । “हामी सबैसंग हारगुहार गर्दैनौं, एउटा सहयोद्धालाई परेको दुःखमा पूर्व पिएलएकै साथीहरु र जनयुद्ध लडेका नेता कार्यकर्ताहरुबाट स्वतःस्फूर्त रुपमा आएका सहयोग रकमलाई केन्द्रीत गरी एकमुष्ठ हस्तान्तर गर्न खोजेका हौं” । ओम घलानले भने ।

क्यान्सर पीडित पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर तामाङको लागि मकवानपुरबाट आर्थिक सहयोग संकलन गर्नु हुँदै तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ओम घलान ‘प्रदिप’, र कम्पनी कमाण्डर सुमन पाख्रिन ‘सौगात’ तस्बिर : डिवि तामाङ

“यो कार्य देश र जनताको मुक्तिका खातिर लडेका योद्धाहरुको वर्गीय माया र सबन्ध अटुट छ र सदा रहने भन्ने सन्देश पनि हो” । उनले थपे । यस कार्यमा पूर्व विद्यार्थी नेताहरु डिवि तामाङ ‘साकार’, ललित घलान ‘धुर्ब’ लगायतले पनि समन्वय गरिरहेको उनले बताए । हाल पचास हजार भन्दा बढी नै रकम जम्मा भैसकेको र साथीहरु सम्पर्कमा आउने क्रम जारी रहेकोले एक दुई दिनपछी मात्र संकलित रकम विरामी समक्ष पठाउने पूर्व कम्पनी कमाण्डर सौगातले बताए ।

काभ्रे, सिन्धुपाल्चोक, काठामाडौंमा रहेका पूर्व जनमुक्ति सेनाका सदस्यहरुले पनि सहयोग रकम संकलन गरि बुझाई सकेका छन् । संखुवासभाको चैनपुर लगायत डेढ दर्जन युद्ध मोर्चामा सहभागि नैनबहादुर चैनपुर, भेजपुर र सिराहको बन्दीपुर मोर्चामा घाइते भएका थिए । हाल उनको श्रीमति सहित नौ वर्षकी एक छोरी र सात वर्षको एक छोरा रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*