बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको लोकप्रिय कार्यक्रम

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १९:१७

असार, हेटौडा – बागमती प्रदेश सरकारको बजेटमा सामाजिक विकास मन्त्रालयका दर्जनौँ लोकप्रिय कार्यक्रम समावेश भएको छ । सामाजिक विकासमन्त्री युवराज दुलालको पहलमा दर्जनौँ जनमुखी एवं लाकेप्रिय कार्यक्रम समावेश भएको हो ।

बजेटमा बागमती प्रदेशले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि सबै जिल्लाका अस्पतालहरुको विस्तार गर्ने गरी बजेटको व्यवस्था गरेको छ ।

आइतबार सार्वजनिक भएको बागमती प्रदेशसभामा प्रस्तुत बजेटमा प्रदेश अस्पताल नभएका जिल्ला मध्येका ४ जिल्लाका अस्पतालालाई प्रदेश अस्पतालको रुपमा विकास गर्नेगरी बजेट प्रस्तुत गरिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका आगामी वर्षका कार्यक्रमहरुमा दोलखाको चरिकोट, काभ्रेको मेथिनकोट, ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गरिनेगरी कार्यक्रम बजेटमा समावेश भएको छ । मन्त्रालयका अनुसार क्यान्सर पीडितलाई सरकारले अहिलेसम्म दिँदै आएको १ लाख सहायतामा पनि थप गरेको छ । ‘क्यान्सर पीडितलाई सरकारले दिँदै आएको १ लाख सहायता रकममा ५० हजार थप दिइने भएको छ ।’ मन्त्रालयले भनेको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालको पहलमा सबै जिल्लामा डायलासिस सेवा संचालन गरिने भएको छ । प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल संचालन गर्ने कार्यक्रम पनि मन्त्रालयले बजेटमा समावेश गर्न सफल भएको छ । विश्व नै कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा मन्त्रालयले त्यसको मध्यनजर गर्दै सन्तुलित बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै, आमा, बुवा दुबै नभएका बालबालिकालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मन्त्रालयले बजेटमा मिलाएको छ । ‘एक विद्यालय, एक नर्स’ बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालले अघि सारेको लोकप्रिय कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ पनि बजेटको प्राथमिकतामा परेको छ । मन्त्रालयले अघि सारेको यो कार्यक्रम अहिले प्रदेशका १ सय २१ विद्यालयहरुमा संचालनमा छ ।

अब प्रदेशका ३ सय ५९ वटा माध्यमिक विद्यालयमा नर्स सेवा संचालन गरिने भएको छ । सो कार्यक्रमलाई सबै स्थानिय तहका थप दुई/दुई विद्यालयमा थप गरिने भएको छ । सो प्रयोजनका लागि २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा ४४ करोड ८७ लाख रुपैयाँ बजेट राखिएको छ ।

भरतपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १ सय शैय्या क्षमतामा स्तरोन्नतिको कार्यक्रम समेत बजेटमा समेटिएको छ । कोभिड १९ को उपचारमा उपकरण खरीद गर्न १२ करोड बजेट राखिएको छ । त्यस्तै, सामाजिक क्षेत्रमा खोजमुलक पत्रकारिता गर्ने महिला पत्रकारको वृत्तिविकासमा समेत प्रदेशले बजेट विनियोजन गरेको छ ।

युवा वैज्ञानिक उत्पादन गर्न कोष स् सरकारले नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यवसायिक उपयोगको नीति लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*