बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रगति, भौतिक: ८५ प्रतिशत, वित्तिय: ६६ प्रतिशत
साउन, काठमाडौं – बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेशभरिकै सबैभन्दा धेरै बजेट खर्च गरेको छ । प्रदेशका मन्त्रालय र विभिन्न कार्यालयहरुमा धेरै बजेट खर्च गर्नेमा सामाजिक विकास मन्त्रालय परेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा ल्याएको बजेटको ८५ प्रतिशत भौतिक प्रगतिमा बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै मन्त्रालयको वित्तिय प्रगति ६६.३३ प्रतिशत रहेको छ । बागमती प्रदेश सरकारले ५८ प्रतिशत बजेट खर्च गरेको छ ।
गत आर्थिक वर्षमा ४७ अर्व ६० करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले २८ अर्व ४ करोड रुपैयाँ मात्र खर्च गरेको थियो । प्रदेश सरकारले चालु खर्च ६० प्रतिशत अर्थात १२ अर्व ४४ करोड रुपैयाँ र पुँजीगत खर्च ५७ प्रतिशत अर्थात १५ अर्व ५९ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेशको बजेटमध्ये सबैभन्दा कम खर्च आर्थिक, मामिला तथा योजना मन्त्रालयले गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले १८ प्रतिशत मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले ६३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५८ प्रतिशत, आन्तरिक मामिला मन्त्रालयले ५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६१ प्रतिशत, प्रदेश सांसदले ४९ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले २४ प्रतिशत र मुख्यन्यायाधिवक्ताको कार्यालयले ६१ प्रतिशत खर्च गरेको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद युवराज दुलाल ‘शरद’ले मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि पनि प्रदेशमा विभिन्न लोकप्रिय कार्यक्रम ल्याएर जनताको मन जितेका मन्त्री दुलालले यसपटक पनि प्रदेशभरिकै जनताको मत जितेका छन् ।






