वृद्धको ज्यान लिने तुइन हटाइयो

तामसालिङ खबर
१३ श्रावण २०७७, मंगलवार ०९:५४

साउन, हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ को सामरी र लालझाडी जोड्ने तुइन हटाइएको छ । हेटौंडा–१ चौकिटोलका ७७ वर्षीय कृष्ण प्रसाद पराजुलीको मंगलबार तुइनबाट लडेर मृत्यु भएपछि हटाइएको हो । हेटौंडा–१ को वडा कार्यालयले बुधवार तुइनको बकेट हटाएको छ ।

तुइनको फलामे तार निकाल्न प्राविधिक टोली बेलाइएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । यसअघि पनि पटक–पटक तुइन प्रयोग नगर्न आग्रह गर्दै आएको वडा कार्यालयले तुइन हटाएको हो । उक्त तुइनको बकेट यसअघि नै हटाइएको थियो । लालझाडीका स्थानीयले वर्षा लागे सँगै तुइन हालेको जनाइएको छ ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले यसअघि तुइन नै हटाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए । चालू आर्थिक वर्षमा तुइन भएकै ठाउँबाट पक्की पुल निर्माण गर्नका लागि १ करोड बजेट छुट्याएपछि वडाध्यक्ष न्यौपाने बुधबार स्थानीयसँग छलफल गरी तुइन हटाउने सहमती गराएका हुन् ।

तुइन नजिकै झोलुङ्गे पुल भएपनि लालझाडीका स्थानीय तुइनबाटै ओहोरदोहोर गर्ने गरेका थिए । वडा कार्यालयले जोखिमयुक्त तुइन प्रयोग नगर्न आग्रह गर्दै आइरहेको न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*