अब चितवन मेडिकल कलेजमा पिसिआर परीक्षण हुने

रासस
३२ श्रावण २०७७, आईतवार १८:३०

साउन, चितवन – निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवन मेडिकल कलेजले पाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले मङ्गलबार सम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताउनुभयो ।

जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु.५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु. ५ हजार ५० लिइने उहाँले जानकारी दिनुभयो ।

कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ ।

कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ ।

कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उहाँले भन्नुभयो “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएल स्तरको भनिने उहाँको भनाइ छ ।

प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् ।

निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*