उपाध्यक्ष तामाङ सहित सात जना जुगल हिमाल आरोहणको तयारी

तामसालिङ खबर
२७ आश्विन २०७७, मंगलवार ०८:४२

असोज, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल हिमालको दोस्रो पटक आरोहण हुने भएको छ । संघीय राजधानीबाट सबैभन्दा नजिकै रहेको जुगल हिमशृंखला अन्तर्गतको ग्याल्जेन पिक आरोहण गरिने भएको हो ।

‘एक सातामा जुगल हिमाल आरोहण’ नाराका साथ सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोली मंगलबारदेखि जुगलको आरोहण गर्ने तयारीमा रहेको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।

असोज २८ गते काठामाडौंबाट आरोहण दलका सदस्यहरू जुगल गाउँपालिकाका तेम्बाथामा गएर बस्ने, बुधबार बेसक्याम्पमा पुगेर शुक्रबारदेखि आरोहण सुरु गर्ने तयारी छ ।

आरोहीको कोरोना परीक्षण भई नतिजासमेत आइसकेकाले पर्यटन बोर्डले आरोहणका लागि आइतबार अनुमति दिने आरोहण टोलीका संयोजक शर्मिला लामाले जानकारी दिइन् ।

आरोहण दलमा शर्मिला लामा, पासाङकाजी शेर्पा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, आङछिरिङ शेर्पा र सार्की शेर्पा रहेका छन् । शर्मिला र पेम्बा तामाङले सगरमाथा आरोहण गरिसकेका छन् भने आरोहण दलका अन्य सदस्यले ६ हजार मिटर अग्ला राष्ट्रिय/अन्तर्राष्ट्रिय हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

‘आरोहणको सबै तयारी पूरा भएको हामीलाई जानकारी आएको छ,’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने । आरोहण दलका सदस्यले ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिकको आरोहण गर्ने र प्रतिकूल मौसम नभए आइतबारसम्म टोली फर्कने गरी हिमाल आरोहण गर्न लागेको नेपालले जानकारी दिए ।

‘यो राजधानीसँग नजिकै रहेको र कम आरोहण भएको हिमाल हुँदा आरोहीहरू आकर्षित भएको पाइएको छ’, पर्यटन व्यवसायी मिलन लामा भन्छन्, ‘पदमार्ग, वेसक्याम्पलगायतका पूर्वाधार निर्माण गर्न सके यो हिमालको आकर्षण झन् बढ्छ ।’

जुगल हिमाललाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि यो आरोहणले थप मद्दत पुग्ने उनको भनाइ छ । दोस्रो पटक हुन लागेको जुगल हिमाल आरोहण दलका सदस्यलाई जुगल गाउँपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ ।

‘जुगल हिमाल हाम्रो पालिकाको गौरव हो’, गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘हिमाल आरोहण गर्ने समूहलाई हामी व्यवस्थापन, बिमा लगायतका केही पाटोमा सहयोग गर्छौं ।’ जुगल गाउँपालिका– २ मा पर्ने जुगल हिमशृंखलाअन्तर्गतको ग्याल्जेन पिक आरोहणमा स्वदेशी विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ०७५ मा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*