बिजुली जाने समस्या बढेपछि प्राधिकरणले निकाल्यो लोडसेडिङको सूचना

तामसालिङ खबर
१६ पुष २०७७, बिहीबार १९:१८

पुस, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ । प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ ।

काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।

लोडसेडिङ गराउनका लागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ । पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरण प्रति असन्तुष्टि पोखिरहेका छन्।

विद्युतका आम उपभोक्ता प्राविधिक कारण मात्रै लाइट काटिने समस्या बढेको हैन कि भनेर शंका गरिरहेका छन् । मंगलबार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक शाक्यले त्यसलाई बल पुग्ने गरी मागले नधाने ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।

शाक्यले भनेका छन्, ‘कहिलेकाहीँ मागअनुसार आपूर्तिले धान्न नसक्दा एकातर्फको फिडरमा १०–२० मिनेट लाइन काटेर अर्कोतर्फ दिने काम पहिला पनि हुन्थ्यो । यो पटक प्राविधिकहरु आलोचना हुन्छ भनेर लाइन काट्न डराउँदा समस्या भयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*